अब त अलि मोर्डन र हट देखिनुपर्छ !

ल पूजना तिमी त निकै भाग्यमानी रहिछौ। डाक्टरजस्तो ज्वाइँ पाउँदा हर्षको कुनै ठाउँ रहेन। त्यसैले तिमीलाई नसोधी बिहे छिन्यौं,’ पूजनाका आमाबुवाले भने।
पूजना एक कुलघरान, आध्यात्मिक परिवारकी एक्ली छोरी थिई। बाबुआमा र दाजुभाइकी प्यारी। डाक्टर समीरले पहिलो भेटमै निकै मन पराएका थिए पूजनालाई। उसले देखाएको गहिरो प्रेम नकार्न नसकेर परिवारले छोरीको हात सुम्पिए।

पूजना सुन्दरता, संस्कार र सभ्यताको एक पयार्यवाची थिई। घरको श्रृंगार, पूजा, आराधना, पाहुनाको सत्कार सिउँदोभरी सिन्दूर, हातमा चुरा, लामो मंगलसूत्र, आँखामा गाजल, उसको सधैंको श्रृंगार हुन्थ्यो। समीर र उसको परिवार सुशील बुहारी पाएकामा आफूलाई निकै भाग्यमानी ठान्थे।

काममा निकै व्यस्त हुनुपर्ने भए पनि आफ्नी श्रीमतीका लागि ऊ समय निकाल्थ्यो। उनीहरूको जोडी भगवानले जुराएको भनिन्थ्यो। यसरी पछिल्ला वर्ष उमंग साथ बिते।पूजना एक कुलघरान, आध्यात्मिक परिवारकी एक्ली छोरी थिई। बाबुआमा र दाजुभाइकी प्यारी। डाक्टर समीरले पहिलो भेटमै निकै मन पराएका थिए पूजनालाई। उसले देखाएको गहिरो प्रेम नकार्न नसकेर परिवारले छोरीको हात सुम्पिए।

पूजना सुन्दरता, संस्कार र सभ्यताको एक पयार्यवाची थिई। घरको श्रृंगार, पूजा, आराधना, पाहुनाको सत्कार सिउँदोभरी सिन्दूर, हातमा चुरा, लामो मंगलसूत्र, आँखामा गाजल, उसको सधैंको श्रृंगार हुन्थ्यो। समीर र उसको परिवार सुशील बुहारी पाएकामा आफूलाई निकै भाग्यमानी ठान्थे।

काममा निकै व्यस्त हुनुपर्ने भए पनि आफ्नी श्रीमतीका लागि ऊ समय निकाल्थ्यो। उनीहरूको जोडी भगवानले जुराएको भनिन्थ्यो। यसरी पछिल्ला वर्ष उमंग साथ बिते।समीर कामकाजले बेलाबेला बाहिर बस्थ्यो। केही महिनाको बाहिरी बसाइपछि घर आएको थियो। पूजना समीरसँग समय बिताएर दुःख–सुख साट्ने चाहना व्यक्त गर्थी।

‘पूजना घर बस्दा–बस्दा वाक्क दिक्क भएकी होली। कहीँ कतै घुमाउन लानुपर्‍यो,’ भनी सोचेकै बेला समीरलाई ट्याक्क एउटा संयोग हात लाग्छ। समीरको साथीको जन्मदिनमा निम्तो आएको छ। त्यो पनि ठूलो होटलमा।

‘भरे मेरो साथीको बर्थडे पार्टीमा जाने हो। तयार भएर बस है,’ बिहान घरबाट ड्युटीमा निस्कने बेलामा टेबुलको झोला काँधमा भिर्दै समीरले पूजनालाई भन्छ।

‘डियर तिम्रो लागि के ल्याएको छु। हेर त,’ झोलाबाट रातो पोको निकाल्दै समीरले भन्छ। ‘अम…आहा कति राम्रो वन पिस। तर मैले यो लगाउँदिनँ। हजुरलाई थाहा छँदै छ त,’ हत्तपत्त समीरको हातबाट पोको थुतेर हेरिसकेपछि पूजनाले भन्छे।

‘ल के कुरा गरेकी? सधैं परम्परावादी कुरा गर्छौ तिमी। अब त अलि मोर्डन अनि हट पनि देखिनुपर्छ। आखिर श्रीमती कसको?’

‘तर मलाई यो ड्रेस लगाउँदा कस्तो–कस्तो अप्ठ्यारो हुन्छ भन्या। हजुरले माया गरेर ल्याइदिएको उपहार कसरी नाइँ भनूँ?’

मन भारी हुँदा हुँदै पनि पूजनाले श्रीमानको कुरा नकार्न सक्दिन। वन पिस साँच्चै राम्रो थियो। निकै दाम पनि परेको। अनि पूजनाले लगाउँदा झनै सुनमा सुगन्ध थपिएजस्तै भयो।

समीरले विस्तारै ‘यो लगाऊ, त्यो लगाऊ’ भन्दै पूजनालाई अनुरोध गर्दै गयो। उसले लगाउँदै गई। होटल पुग्दा पार्टीको माहोल अलि फरक थियो। यो मानेमा कि पूजनाले पहिले कहिल्यै यस्तो दृष्य देखेकी थिइन।

पूजना पहिलोपटक श्रीमानसँग डिनरका लागि बाहिर आएकी थिई। टेबलमा बसेर वरिपरि नियाली। एक्कासि उसको नजर हातमा बोतल र गिलासले अड्डा जमाएको एउटा समूहमा गयो। अर्धचेतन अवस्थामा बेसुरमा झुलिरहेका ती मान्छेको पारा देखेर पूजनालाई असजिलो भयो।

डिजेले म्युजिक फेरिरहेको थियो। घरबाट श्रीमान-श्रीमती भएर छुटेका युगल पनि साटासाट भएका। को कसको? को कताको? रोटेपिङ घुमेजस्तो भयो पूजनालाई।

समीरका साथीले उसलाई पूजनासँग नाच्न बाध्य बनाए। यी सबै देखेर पूजनालाई कति बेला बाहिर निस्कुँ भयो। मान्छेलाई जेमा सहज हुन्छ, जेमा बानी परेको छ, त्यही प्यारो हो।

केही समयपछि समीर कता हरायो कता? पूजनाले अत्तोपत्तो पाइन। उसको प्रेमको डोरी कता अल्झियो कता?

ऊ लुसुक्क बाहिर निस्किई। होटलबाट निस्किएकी ऊ, एक बित्ताको हिल, वनपिस, त्यसमाथि बोल्ड मेकअप। ट्याक्सीहरूको भिडै लाग्न थाल्यो।

‘म्याडम कहाँसम्म पुर्‍याइदिऊँ?’, उसलाई ट्याक्सी तर्फ हेर्न मनै लागेन। एउटा अटो बोलाएर जसोतसो घर पुगी। हतारमै आफ्नो पहिरन फेरी। अनुहारको मेकअप पनि हतारहतार धोई।

ऊ निदाउन खोजी। आँखा बन्द हुन मानेनन्। मनमा अनेकौं कुरा खेल्न थाले, ‘के मोर्डन हुन छोटै लुगा लगाउनुपर्ने हो र? यस्तै लुगाले मात्रै हट देखिने होला र? अप्ठ्यारो हुँदाहुँदै लगाउने छोटा लुगाले आधुनिक हुने हो र? आफ्नो अंग ढाकेर सहज मान्नेहरू सबै सुन्दर देख्छु म त। हुन त सुन्दरता वस्तुमा होइन, हेर्ने आँखामा हुन्छ भन्छन्। मेरा श्रीमानलाई म यस्तो लुगामा मोर्डन नलाग्दी हुँ। मैले गर्ने पूजाआराधना परम्परावादी लाग्दो हो उहाँलाई। उहाँको व्यस्त जीवनको थकान मेरो मुस्कान र संस्कारले हलुंगो भएको महसुस गर्छु म। तर उहाँलाई खै के लाग्दोरहेछु म।’

‘कृत्रिम सुन्दरता क्षणिक हुन्छ। उमेरले नेटो काटेसँगै बनावटी सुन्दरता खोक्रिँदै जान थाल्छ। उमेर ढल्केपछि छालाले रङ फेर्छ। सबै उस्तै–उस्तै लाग्छ। मानिसको व्यवहार, विचार, कर्म र उसले निर्वाह गर्ने धर्म सुन्दर हुनुपर्छ। यो गतिलाई जति बढायो, त्यति बढ्दै जाने हो। वास्तविक सुन्दरता यही त हो नि।’

भोलिपल्ट सात बजेको ड्युटी जानुपर्ने समीर। तर पूजनाले सबै काम सकाएर खाना टेबुलमा लगाइसक्दा पनि उठ्ने पत्तो थिएन। समीरसँग अनेकौं प्रश्न सोध्न मन थियो। तर उसको नजिकै बसेर निधारमा हात राख्दै पूजनाले भनी, ‘हजुर अफिस जाने बेला भएन ? उठ्नुस् न खाना लगाइसकेँ।’

समीर जीउ तन्काउँदै उठ्छ। नित्यकर्म सकी टाइ-सर्ट लगाएर दराजको ऐनामा कपाल मिलाउँदै भन्छ, ‘सुन त, आज मेरो इमरजेन्सीमा पनि ड्युटी छ। बेलुका नआउन पनि सक्छु। तिमी खाना खाएर सुत्नू।’

पूजना हरेक दिन उसलाई मनपर्ने खाना बनाएर उसैको प्रतीक्षामा बस्थी। उसलाई समीरप्रति निकै विश्वास थियो। बिहे पनि समीरकै कर–बलले भएको थियो। उसलाई लाग्थ्यो, समीरले ज्यान गए पनि धोका दिने छैन।

जसलाई मनैदेखि माया गरिन्छ, उसका लागि पहाडै उठाउन परे पनि थकाई लागेकै महशुस हुँदैन। आफूले माया गरेको मान्छेलाई खुसी बनाउँदा जति आनन्द मिल्छ, त्यो संसारको कुनै बहुमूल्य उपहारले दिन सक्दैन।

एकदिनको कुरा हो, पूजना भान्सामा तरकारी केलाउँदै थिई। समीर सबेरै उठेर नुहाइधुवाइ सकेर आफ्नो सुटकेसमा कपडा प्याक गरिरहेको थियो।

‘आज कतै जाँदै हुनुहुन्छ हो?’

समीर बोल्दैन।

‘मसँग किन बोल्न खोज्नुहुन्न हजुर? घरमा आउने जाने समयको ठेगान छैन। पहिले पो हामी दुई थियौं। अहिले तीन भइसकियो। अलि व्यवहारिक पनि बन्ने कोशिस गर्नुस् न हजुर। मेरो माया नलागे पनि यो दूधे बालकको माया लाग्नुपर्छ नि। बाबुले जतिबेला पनि बाबा भनी सताइरहन्छ,’ उसले भनी।

पूजनाका भनाइ बेवास्ता गर्दै समीर भन्छ, ‘खाना लगाऊ, मलाई ढिला हुन्छ। तिमीलाई कति भन्नु मैले? एउटा काम गर्ने मान्छे राख। म समय दिन सक्दिनँ थाहा त छ नि तिमीलाई। आफ्नो ख्याल राख्ने गर न।’

पूजनालाई श्रीमानका शब्द ठीकै लाग्छ।

‘म कति शंकालु छु। हिँड्ने बेलामा नरिसाएकी भए पनि हुने। के गरून् बिचरा, उनको कामै यस्तै छ। उनको निजी जिन्दगी अरूको सेवामा समर्पित गर्नुपर्छ। काम गर्ने एकजना राख्नु पर्‍यो। मलाई पनि साथी हुन्छ। समीरलाई मेरो चिन्ता पनि कम।’

समीर काम विशेषले बाहिर गयो। पूजनाले एकजना काम गर्ने महिला राख्छे। त्यो महिला पूजनाभन्दा सानी थिई।

‘उमेरले मभन्दा कान्छी हुनुहुन्छ, अब म कान्छी भनेर बोलाउँछु ल,’ ठट्यौली पारामा पूजनाले भनी।

काममा राख्ने बेलामै कान्छीका बारेमा केरकार गर्न पूजनालाई मन लागेन। धेरै दिनको कसरतपछि बल्लतल्ल पाएको मान्छे, दुःख पाएकी महिला, काम दिए राम्रोसँग गर्ली भन्ने विश्वास थियो उसलाई।

उसको त्यो विश्वासमा खिया लाग्न पाएन। कान्छी भनेजस्तै थिई। केही सिकाउनु नपर्ने। खुरुखुरु काम गर्ने। इमानदार। कान्छीकी एउटी छोरी थिई। ज्ञानी र प्यारी। पूजनालाई देख्नासाथ मुस्कुराइहाल्थी। पूजनाको छोरो पनि नानीसँग निकै खुसी भएर खेल्थ्यो।

यसरी पूजनाका दिन बित्न थाले। समीरले आक्कलझुक्कल फोन गर्थ्यो।

तिहार नजिकिँदै थियो। घरभित्र र बाहिरको सरसफाइको काम। कान्छीलाई सास फेर्ने फुर्सद थिएन। धपेडीले गर्दा इन्तु न चिन्तु भएकी थिई।

‘तिहारका लागि मलाई केही सामान किन्नुछ। अरु सरसफाई सिद्धियो होला। मेरो कोठा बाँकी छ। आज त्यो पनि सफा गरिदेऊ है,’ गेटको ढोका खोल्दै गरेकी पूजनाको यो निर्देशन कान्छीले मान्नुको विकल्प थिएन।

कान्छी पूजनाको कोठामा गई। ढोका खोल्नासाथ उसको नजर भित्ताको फोटोमा टक्क अडियो। ऊ छाँगाबाट खसेजस्तो भई। उसका हातखुट्टा फत्रक्क गले। हातको कुचो भुइँमा खस्यो। थचक्क नजिकैको सोफामा बसी। के गरुँ र कसो गरुँ भयो उसलाई। धेरै बेर टोलाई।

उसको मनले भन्छ, ‘अब मलाई यहाँ एकछिन पनि बस्नु छैन।’

ऊ आफ्नो पोकापन्तुरा बोकेर छोरीको हात समाई गेटसम्म पुग्छे। त्यही बेला गेटबाटभित्र छिर्नै आँटेकी पूजनाले सोध्छे, ‘कहाँ जान लागेकी कान्छी?’

कान्छी केही नभनी खुरुखुरु निस्कन खोज्छे।

‘किन मैले केही नराम्रो भनेँ र? कि काम बढी भयो? यसरी घरै छोडेर हिँड्नुपर्छ र,’ उसले सोधी।

‘हैन दिदी, यसमा हजुरको केही दोष छैन,’ कान्छीलाई एक मन त सबै कुरा छर्लङ्ग पारिदिऊँ जस्तो लाग्छ। तर आँट गरिन।

‘हिँड भित्र,’ आफूले ल्याएका सामान भुइँमा फ्यात्त फ्याकेर पूजना कान्छीका पोकापन्तुरा बोकेरभित्र पस्छे। कान्छी पनि छोरीलाई डोर्‍याएर पूजनाको पछिपछि लाग्छे। घरमा श्रीमान छैनन्। एक्लोपनलाई साथी बन्ली भनी ल्याएको मान्छे भाग्ने तरखर गर्न थालेपछि पूजना थप चिन्तित भई।

उसले कान्छीलाई चाहेरै पनि ‘त्यस्तो कदम किन चालेको?’ भनेर सोध्ने हिम्मत जुटाउन सकिन।

एकदिन कान्छी फ्रेस मुडमा थिई। मौका यही हो भन्ने ठानी पूजनाले। उसलाई कान्छीका बारेमा जान्ने हुटहुटी भयो। घुमाइफिराइ सोध्न थाली।

‘कान्छी, तिम्री छोरी कति राम्री रहिछन्! ज्ञानी उस्तै। यिनको बाबा कहाँ हुनुहुन्छ?’

कान्छी एकछिन बोलिन। पूजनालाई लाग्यो डिभोर्स भएको होला।

फेरि सोधी, ‘नानीको बाबा हुनुहुन्न र कान्छी?’

‘…कहानी लामो छ दिदी,’ कान्छी बल्ल बोली।

‘भन न मिल्ने भए। के हुन्छ र? दुःख बाँडे घट्छ भन्छन्,’ पूजनाको धेरै जिद्दीपछि कान्छीले आफ्नो खाटो परिसकेको अतीत नकोट्याई धर पाइन। उनीहरू बीच लामो कुराकानी भयो।

यसको केही दिनपछि पूजनाले श्रीमानलाई फोन गरी, ‘सञ्चै हुनुहुन्छ? धेरै दिन भयो घर नआउनुभएको। नियास्रो लागेको छ। बाबु पनि हजुरलाई खोजिरहन्छ।’

‘हुन्छ म आउँछु,’ समीर भन्छ।

केही दिनपछि समीरको कार गेटबाट भित्र हुइँकिदै गर्दा उसको मन एकतमासले पोल्न थाल्छ। भित्र भव्य समारोह थियो। घर दुलही जस्तै सिँगारिएको। समीर छक्क पर्छ। पूजनाले पहिले समीरले ल्याइदिएको वनपिस, एक बित्ता अग्लो हिल, अनि बोल्ड मेकअपमा सजिएर उसको हात समाउँदै स्वागत गर्छे।

समीरले सोध्छ ‘यो सब के हो?’

‘सरप्राइज, आज तपाईंको जन्म दिन। ह्याप्पी बर्थडे डियर। अब त अलि मोर्डन अनि हट पनि देखिनुपर्‍यो नि।’

‘अनि अर्को यो सरप्राइज के नि फेरि,’ अगाडिको उपहार हेर्दै भन्छ समीर।

‘खोलेर हेर्नु नि।’

समीरले उपहार खोल्छ, डिभोर्स पेपर।

ऊ जङ्गिन थाल्यो, ‘के गर्न खोजेको तिमीले? दिमाग त ठीक ठाउँमा छ तिम्रो? यस्ता पाखेको के कुरा! तिमीसँग के जीवन बिताउन सकिन्छ र!’

‘जीवन त हजुरले होइन मैले बिताउन सक्दिनँ अब। जिन्दगीभरी धेरै सरप्राइज दिनुभयो मलाई। ल यता हेर्नुस्। को हुन् उनी चिन्नुहुन्छ?’

पूजनाले कान्छीलाई अगाडि ल्याई।

‘तपाईंको निमेषभरको आनन्दका लागि उसले जिन्दगी आहुति दिनुपर्‍यो। उपचारका लागि तपाईंसँग आएकी उसले तपाईंबाटै आफूलाई जोगाउन सकिन। चिन्नुभयो?’

समीर सपना देखेजस्तो महशुस गर्छ। समीरको घिनलाग्दो वासना उसले काम गर्ने स्थानमै लुकाएर बाहिर आउन दिइएको थिएन। दुवै पक्षको मिलापत्रमा घटना थामथुम पारिएको थियो।

तर पाप कति दिन लुक्छ र?

पूजनाले कान्छीलाई वकिल भेटाइदिएकी थिई। अब समीरको अपराधको सजाय पर थिएन।

पूजनाले भने समीरको हातमा डिभोर्सरुपी हतकडी लगाइदिई। आफ्नो जीवनबाट सदाका लागि बिदा गरी।

एक बलात्कारी पतिलाई कैदी बनाउने खुबी आफूमा रहेकामा पूजनाले आफूलाई निकै मोर्डन ठानी!

प्रतिकृया दिनुहोस्