खाडी नपसौँ, झाडी पसौँ: यसरी असुरो, तीतेपाती, वनमाराले बनाउँछ मालामाल !

काठमाडौँ – गाउँघरमा पाइने असुरो, तीतेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिनप्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँठाउँमा प्रशस्त वानस्पतिक वस्तु भए पनि प्रयोगमा बेवास्ता गर्दा रासायनिक मल, विषादीको प्रयोगले खेतबारीको उर्वराशक्ति नै नाश गरेको छ भने अर्कोतर्फ मानव स्वास्थ्यलाई नराम्रोसँग असर पारिरहेको छ । मानव स्वास्थ्य र खेतबारीको माटोको उर्वराशक्ति जोगाइराख्न पाल्पा रम्भा गाउँपालिका–१ हुँगी सघाहाका कृषक ‘खाडी नजाऔँ, झाडी (ंगलज) पसौँ’ भन्ने अभियानमा जुटेका छन् । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोग बढ्दै जान थालेपछि यहाँका कृषकहरू घरेलु प्रविधिबाट झाडस सफाइ गरी मल उत्पादन सुरु गरेका हुन् । खेतबारीमा आवश्यक परेका बेला समयमा नै मल नपाइने र व्यापारीले पनि मल आपूर्तिको मौका छोपी कालोबजारीमा मल बिक्री गर्नेक्रम पनि उत्तिकै छ । दोब्बर, तेब्बर बढी मूल्य तिरेर रासायनिक मल खरिद गर्न कृषक बाध्य छन् ।

सघाहा गाउँका कृषकहरू मिलेर गत वर्षदेखि गाउँमा खेर गएका असुरो, तीतेपाती, खिर्राे, वनमारा लगायतका विभिन्न बोटविरुवाको प्रयोग गरी जैविक प्रांगारिक मल तथा विषादी बनाएर खेतबारीमा प्रयोग गर्ने गरेका छन् । ‘खाडी नजाऔँ, झाडी पसौँ’ भन्ने अभियानका साथ वनजंगल, गाउँघर वरिपरिका झाडीलाई सफा गरी खेर गएका तीतेपाती, असुरो, वनमारा, खिर्रोजस्ता वानस्पतिक पदार्थलाई मिश्रण गरी प्रांगारिक मल तथा झोल मल बनाउने गरिएको अगुवा कृषक ऋषिराम अर्यालले बताए ।

खेतीबारीमा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति नै कम हँुदै गएको छ, गाउँघरमै खेर गएका वानस्पतिजन्य वस्तुलाई कुहाएर जैविक प्रांगारिक मल बनाएर प्रयोग गरियो भने उत्पादन बढ्नेछ भने अर्कोतर्फ खेतबारीको माटो नबिग्रने भएकाले घरायसी प्रविधिबाट मल तयार गर्न थालेका छौँ,’ उनले भने । घरायसी मल तथा विषादी खेतबारीमा प्रयोग गर्न थालिएपछि गाउँघरमा बाँदर आतंक पनि कम भएको उनले बताए । साथै धेरै उत्पादन लिन कृषकले मानव स्वास्थ्यलाई नै हानी पु¥याउने गरी बोटविरुवामा विषादीको प्रयोग गरिरहेका छन् । विषादी प्रयोगबाट उत्पादित कृषि उपजको सेवनले मानव स्वास्थ्यमा असर पारिरहेको जानकारी हँुदाहँुदै पनि विषादी प्रयोग गर्न भने कृषकले छाडेका छैनन् । यहाँका कृषक भने विषादी र रासायनिक मलको प्रयोग कम गर्नकै लागि यस अभियानमा जुटेर नमूना कार्य गरिरहेका छन् । उनीहरूले यो प्रविधिको प्रयोगले उत्पादनमा पनि फाइदा लिने योजना बनाएका छन् ।

कालीगण्डकी किनारको आडैमा रहेको लक्ष्मीनारायण धाम क्षेत्रमा रहेका झाडी सरसफाइ गरेर सोही ठाउँमा मल उत्पादन हुन थालेपछि लक्ष्मीनारायण धाम क्षेत्रको वातावरण सुन्दर र हराभरा बनेको छ । यहाँका कृषकले हाल एक रोपनी जग्गामा धान बालीका लागि युरिया मलको सट्टा २० देखि ३० लिटर झोल मल प्रयोग गर्ने गरेका छन् । सो जग्गामा पहिला धान बालीमा सात किलो युरिया मल साथमा अन्य डिएपीलगायतका मल पनि प्रयोग गर्ने गरेको कृषक बताउँछन् ।
कृषकहरू भन्छन्, ‘घरायसी प्रविधिबाट उत्पादित मलको प्रयोगले बाहिर बजारमा रासायनिक मल किन्ने खर्च बचत भयो भने बालीनाली राम्रो, खेतबारीको माटोको उर्वराशक्ति बढ्ने, गाउँघरमा खेर गएका झाडीजन्य पदार्थ सदुपयोगमा ल्याउन सकियो । रासायनिक मलको प्रयोगबाट मानव स्वास्थ्यमा परेको प्रभावलाई कमगर्ने कुरा त छँदैछ ।’

कृषकले उत्पादन गरेको मललाई ल्याब परीक्षण गरी गुणस्तरको मात्रा प्रमाणीकरण गरेर बजारमा लैजाने योजना बनाएको रम्भादेवी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पाठक बताउछन् । उनले भने, ‘अघिल्लो वर्षको उत्पादन बालीनालीमा प्रयोग गर्दा असाध्यै राम्रो भएपछि कृषक आफैँ स्वतःफूर्तरुपमा उत्साहका साथ यस कार्यमा लागेका छन्, यस क्षेत्रमा रासानिक मल र विषादीको प्रयोग गर्ने क्रम पनि अहिले घट्दै गएको पाइएको छ ।’
गत वर्ष गाउँपालिकाले साना किसान कृषि सहकारी संस्थालाई पशु आहार र मलको परीक्षणका लागि १२ लाख रकम सहयोग गरेको थियो । सो रकमबाट अर्सेदी, सघाहा र अमिलटारी क्षेत्रका कृषकलाई जैविक प्राङ्गारिक मल तथा झोल मल उत्पादन कार्यमा आवश्यक पर्ने सामग्री खरिदमा खर्चिएको सहकारीका अध्यक्ष पाठकले बताए ।
source: Bigulnews

प्रतिकृया दिनुहोस्